महाभारतमा गाउँमै नागरिकता

नागरिकता तथा राहदानीका लागि धुलिखेलसम्म आउनुपर्ने काभ्रेको विकट महाभारत गाउँपालिकाका स्थानीयबासीको बाध्यता अन्त्य भएको छ । महाभारत गाउँपालिकामा पहिलोपटक इलाका प्रशासन कार्यालय स्थापना भई सर्वसाधारणका लागि सेवा सुरु भएपछि स्थानीयबासीको बाध्यता अन्त्य भएको हो ।
महाभारत गाउँपालिका वडा नंवर ६ बनखुको देवीटारमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयको आज एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी र काभ्रेका प्रमसख जिल्ला अधिकारी कृष्णवहादुर राउतले संयुक्तरुपमा उद्घाटन गरेका छन् । उनीहरुले वडा नंवर ६ का मकरवहादुर थिङकी बिस बर्षीया छोरी अनिता थिङलाई नागरिकताको प्रमाणपत्र दिएर सेवा शुभारम्भ गरेका थिए । इलाका प्रशासन कार्यालयबाट नागरिकता राहदानी र नाबालक बालबालिका परिचयपत्र वितरण हुनेछ । यस्तै इलाका प्रशासनले इलाकाभित्रका सबै सरकारी कर्मचारीको विवरण राख्ने, कुख्यात अपराधीहरुको सुची संकलन गरी कार्बाहीका लागि जिल्लामा पठाउने लगायतका काम गर्नेछ ।


हाल उक्त कार्यालयमा इलाका प्रशासन अधिकृत झपेन्द्र खरेलको नेतृत्वमा तीन जना कर्मचारी खटाइएको छ । यसअघि २०६९ सालमा मंसिर ९ गते मन्त्रीपरिषद बैठकले डाँडापारिको घर्तिछापमा खानीखोला गाउँपालिकाका साविकका ३ गाविस र महाभारत गाउँपालिकाका सबै गाविसलाई हेर्ने गरी इलाका प्रशासन कार्यालय स्थापनाको निर्णय गरेको थियो । तर, कर्मचारी परिचालन नहुनुका साथै ठाउँसमेत अपायक भएपछि गत बैशाख २४ गते मन्त्रीपरिषदले महाभारतका लागि बनखुमा इलाका प्रशासन राख्ने निर्णय गरेको हो । 

गत माघ २६ गते बनखुमै आयोजित कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले बनखुमै इलाका प्रशासन राखिने आश्वासन दिएका थिए । अहिले इलाका प्रशासन, गाउँपालिका र अस्थायी प्रहरी चौकीका लागि बनखुको देवीटारमै १६ रोपनी जग्गा उपलव्ध भएर काम सुरु भइसकेको छ । काभ्रे २ का सांसद गोकुल बास्कोटा सञ्चार राज्यमन्त्री बनेपछि गाउँपालिका, सबै वडा कार्यालय र विद्यालयमा निःशुल्क वाइफाईको व्यवस्थासमेत भइसकेको छ । इलाका प्रशासन कार्यालय उद्घाटन कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, गाउँपालिका अध्यक्ष कान्छालाल थिङ, र उपाध्यक्ष चेतकुमारी माझीले मन्तव्य राखेका थिए ।