‘वडा नम्बर ६’ लाई दयाहाङ्गले हाँक्ने

img1

दिपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले मिलेर निर्माण गर्ने दोश्रो फिल्म ‘वडा नम्वर ६’ मा कलाकार दयाहाङ राई अनुबन्धित हुनु भएको छ । उज्जवल  घिमिरेले निर्देशन गर्नु हुने चलचित्रमा दयाहाङको महत्वपूर्ण भूमिका हुनेछ । यसअघि चलचित्रको मुख्य भुमिकामा देखिने भनिएका कलाकार विल्सन विक्रम राईले अब  अतिथि भुमिका मात्र खेल्नु हुनेछ ।

‘सौहार्दपूर्ण रुपमै विल्सनजीले हाम्रो फिल्ममा अतिथिको भूमिका निभाउने कुरा भएको हो’, चलचित्रका निर्माता दिपकराज गिरीले भने, ‘ढुक्क हुनुहोस्, पहिलाको जस्तो होइन यसपाली, विल्सन आफंैले समय दिन नसकेपछि अतिथि भूमिकामा खेल्न राजी हुनुभएको हो ।’  यसअघि पनि चलचित्र ‘६ एकान ६’ मा विल्सन अन्तिम चरणमा आएर बाहिरीनु भएको थियो ।

मंसिर ८ गतेदेखि पाँचखालबाट छायांकन शुरु हुने चलचित्र ‘वडा नम्वर ६’ मा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, दयाहाङ्ग राई, प्रियंका कार्कीको मुख्य भुमिका हुनेछ । निर्मात्री दिपाश्री निरौलाको भूमिकालाई भने निर्माण युनिटले ‘सरप्राइज प्याकेज’ भनी खोल्न चाहेका छैनन् । ‘फिल्ममा उहाँको चमत्कारीपुर्ण ‘इन्ट्री’ हुन सक्छ’ दिपाको भुमिका बारे दिपकले भन्नु भयो । अभिमन्यू निरवीले चलचित्रको लेख्नु भएको हो ।

Source : Ujyaalo