विश्वभरबाट ६ सय करोड कमायो पिकेले

img1

बलिउड अभिनेता आमिर खान अभिनित चलचित्र पिकेले भारत भित्र नै तीन सय करोड भारतीय रुपैयाँको व्यापार गरेको छ । पिकेले भारत भित्रमात्रै आइतबारसम्ममा तीनसय करोडको व्यापार गरेको हो ।

तर विश्वव्यापी रुपमा भने पिकेले ६ सय करोड भन्दा बढीको व्यापार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसको आधिकारी घोषणा भने भएको छैन । भारतभित्र र बाहिर गरी समग्रमा ६ सय करोडको आंकडा अहिले सम्म कुनै पनि चलचित्रले छुन सकेका छैनन् । योसँगै आमिर अभिनित पिके बलिउड चलचित्रमा अहिलेसम्मकै सबैभन्दा धेरैको व्यापार गरेको चलचित्र बनाएको छ । यसैबीच आमिर खान एक सय करोड, दुई सय करोड र तीन सय करोडको व्यापार गर्ने चलिचत्र खेल्ने पहिलो अभिनेता बनेका छन् । आमिर अभिनित गजनीले एक सय करोड तथा थ्री इडियट्सले दुई सय करोडको व्यापार गर्ने कीर्तिमान बनाएका थिए त्यो पनि भारत भित्रको कमाइले मात्रै । अब पिकेले भारत भित्रै तीन सय करोडको व्यापार गर्ने कीर्तिमान बनाएको छ ।

यस हिसाबले आमिर भारत भित्रकै कमाइमा एक सय, दुई सय र तीन सय करोडको व्यापारको कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका छन् । चलिचित्र समिक्षक कोमल नाथले आमिरले एक देखि तीन सय करोडसम्मको कीर्तिमान बनाएको खबर ट्वीटरमा पोष्ट गरेका छन् । गएको डिसेम्बर १९ मा रिलिज भएको पिके विभिन्न विवादमा पनि मुसिएको थियो । हिन्दु धार्मिक संघठनले पिकेले आफ्नो धर्मको भावनामाथि ठेस पुर्‍याएको भन्दै विरोध गरेका थिए ।

तर सबै विवादले पिकेलाई असर गर्नुको साटो व्यापारमा थप टेवा पुर्‍याएको देखिन्छ । राजकुमार हिरानीले निर्देशन गरेको पिकेमा आमिरसँगै अनुष्का शर्मा, सुशान्त सिंह राजपुत, बोमन इरानी, सञ्जय दत्त लगायतको अभिनय छ ।